मकवानपुर – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार हेटौंडामा युवा पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पाँचौ दिन युवा पदयात्रा गरिएको हो।

“पर्यटन प्रवर्द्धन युवा पदयात्रा” भन्ने नाराका साथ आयोजित पदयात्रा हेटौंडा–५ स्थित सिँचाइटोलबाट सुरु भएर मकवानपुरगढी गाउँपालिका स्थित मनकामना मन्दिर हुँदै पुनः हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिर परिसर पुगेर समापन भएको थियो । पदयात्री टोलीलाई मनकामना मन्दिरमा मकवानपुरगढी गाउँपालिकाकी उपप्रमुख मान कुमारी नेपालीले स्वागत गर्नु भएको थियो । बागमती प्रदेश स्काउटको समन्वयनमा भएको पदयात्रामा चितवन र मकवानपुरका स्काउट सदस्यसहित एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । पर्यटन प्रबद्र्धनमा युवाहरुको सहभागिताका लागि पदयात्रा आयोजना गरिएको बागमती प्रदेश युवा परिष्दका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभयो ।
‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ २२ औं अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी कार्यक्रम गरि मनाईदै छ । साउन २४ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमको ३० गते समापन हुने चौलागार्यले बताउनुभयो । पद यात्रामा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रहलाद लामिछाने, जिल्ला बार एसोसियन मकवानपुरका पुर्व अध्यक्ष मदन दाहाललगायतको सहभागिता रहेको थियो ।













