हेटौंडा – नेकपा एमालेका केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेलले गठबन्धन सरकारले मुलुकलाई बर्बादीतर्फ तर्फ धकेलेको बताउनु भएको छ । नेकपा एमाले गढी गाउँपालिका कमिटीले आयोजना गरेको संगठन सुदृढीकरण तथा शुद्विकरण अभियान अन्तरगत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अग्रगमनको लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।

No description available.

नेता पौडेलले गठबन्धन सरकारको कारण सबैभन्दा बढि संविधान, राष्ट्रियता र जनजिविका कमजोर भएको बताउँदै सुशासन कमजोर र भ्रष्ट बनाउने, समृद्विका आधारहरू भत्काउने, बैदेशिक मुद्राको सञ्चिति घट्नु, व्यापार घाटा बढ्नु, साधारण खर्च बढ्नु, राजनीतिक अस्थिरता उत्पन्न गरेर मुलुकलाई बर्बादी तर्फ धकेलेको बताउनुभयो । मुलुकलाई अग्रगमनतर्फ लैजान, सुखी नेपाली र समृद्व नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न र समाजवादको यात्रामा अगाडि बढ्न एमाले विजयी गराउनु विकल्प नरहेको उहाँको भनाई थियो । निष्ठावान कार्यकर्ता, शुद्व र पारदर्शी नेतृत्व निर्माणको बलमा नेकपा एमाले बलियो हुने र प्रतिस्पर्धामा जित्न सक्ने बनाउनको लागि पार्टी अभियानको आवश्यक रहेको बताउँदै नेता पौडेलले पार्टीको आन्तरिक कमिलाई सच्याउदै सुदृढ र एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिनाले स्थानीय निर्वाचन सन्देश, शिक्षा र आगामी संसदीय निर्वाचनको तयारी, जिल्ला सचिव नवीन सिग्देलले जनताको बहुदलीय जनवादको मान्यताको अनुरूप पार्टी निर्माण र परिचालन, उपसचिव सीता विष्टले जनसंगठन र पार्टीबीचको अन्तरसम्बन्धको प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा गढी गाउँपालिकाका ईन्चार्ज विदुर हुँमागाईँ, जिल्ला सदस्यहरू हरि कंडेल, मिलन पाठक, जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष बलराम हुँमागाईँ, परिषद्का सदस्यहरू कृष्ण थिङ्ग, अनेकिसंघ जिल्ला अध्यक्ष बिष्णु दंगाल, अनेरास्ववियु जिल्ला अध्यक्ष भुवन मैनालीको आथित्यतामा रहेको थियो । पालिका कमिटीका उपाध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पालिका कमिटीका सदस्यहरू, पार्टी वडा कमिटीका पदाधिकारी, जनसंगठनका गाउँपालिकाका पदाधिकारीहरू र जनप्रतिनिधिहरूको सहभागिता थियो । सो अवसरमा पालिकाका ८ वटै वडामा भाद्रको पहिलो हप्तासम्म प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरिएको पार्टी पालिका सचिव नानिराम तिमल्सिनाले बताउनुभयो ।