इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन आज रातिदेखि सुरु हुँदैछ । सन् २०२२/२३ सिजनको उद्घाटन खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दैछन् । खेल राति सवा १२ बजे सुरु हुनेछ । क्रिस्टल प्यालेस र आर्सनलबीच अहिलेसम्म २६ पटक भेट भएकोमा आर्सनलले १४ र प्यालेसले चार पटक जितेको छ । यस्तै आठ खेल बराबरीमा सकिएको छ । यस्तै पछिल्लो पाँच भेटमा आर्सनल र प्यालेसले एक–एक खेल जित्दा तीन खेल बराबरीमा सकिएको छ ।
यस पटकको प्रिमियर लिगमा केही नयाँ नियम थपिएका छन् । अब एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । यसअघि तीन खेलाडीमात्र परिवर्तन गर्न पाइन्थ्यो । यस्तै एकै खेलमा धेरै बल प्रयोग गर्ने नियम पनि लागू हुने भएको छ । खेल चलिरहँदा बल बाहिर जाँदा खेलमा ढिलो हुने भएकाले १० वटा बल प्रयोग हुनेछ । यस्तै उचित कारण देखाएर खेलाडी अभाव भएको अवस्थामा खेलको मिति नै परिवर्तन गर्न सकिने नियम पनि थपिएको छ ।
यो सिजनमा नयाँ टिम नटिङ्घम फरेस्ट प्रिमियर लिगमा फर्किएको छ । सन् १९९८/९९ मा रेलिगेशनमा परेको नटिङघम २३ वर्षपछि ईपीएलमा फर्किएको हो । त्यस्तै २०२०/२१ को सिजनमा रेलिगेशनमा परेको फुलहम र २०१९/२० को सिजनमा रेलिगेशनमा परेकाे बर्नमाउथ पनि फर्किएकाे छ । गएकाे सिजनमा बर्नले, वाटफोर्ड र नर्विच सिटी रेलिगेशनमा परेका थिए । यस्तै कतार विश्व कपका कारण ईपीएलमा पहिलो पटक यसपालिको जाडोयाममा ६ हप्ता खेल हुने छैन । विश्व कप पहिलो पटक नोभेम्बर डिसेम्बरमा हुन लाग्दा ईपीएल प्रभावित हुने भएको हो । गएको सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । एस्टन भिलालाई तीन–दुईले हराउँदै सिटीले छैटौँ पटक उपाधि जितेको थियो ।