मकवानपुर । हेटौँडामा आइतबार ‘उहिलेको पत्रकारिता’ र ‘डिजिटल साक्षरता’ नामक दुई पुस्तक विमोचन गरिएको छ । बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयद्वारा प्रकाशित ज्येष्ठ पत्रकारको अनुभव समेटिएको उहिलेको पत्रकारिता र सूचना तथा प्रविधिका बारेमा जानकारी गराउने डिजिटल साक्षरता नाम दुईवटा पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तकको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले विमोचन गर्नुभयो । पुस्तक विमोचन कार्यक्रममा मन्त्री खनालले दुवै पुस्तकले बागमती प्रदेश र आन्तरिक मामिला मन्त्रालयको साख बढाएको बताउनुभयो । उहिलेको पत्रकारिता पुस्तकले इतिहासलाई स्मरण गराएको र डिजिटल साक्षरताले अबको मार्ग प्रशस्त गरेको उहाँको भनाई थियो । मन्त्री खनालले डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रुपमा भैरव रिसाल, मोफसलको धरोहरको रुपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीको रुपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई, पत्रकारका गुरु रामकृष्ण रेग्मीका अनुभव समेटिएका छन् । उक्त पुस्तक पत्रकारिता इतिहासको अभिलेख पनि हो । इतिहासका प्रमाणिक सूचना त्यस्ता व्यक्तिहरूसँग हुन्छन् जसले आफ्नो जीवनको उर्वरशिल समय सूचना सङ्कलन, प्रशोधन र सम्पादनमा खर्चेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले बताउनुभयो । पुस्तकमा ज्येष्ठ पत्रकार भैरव रिसाल (९४ वर्ष), नारायण शर्मा (९१ वर्ष), लालध्वज देउसा राई (८९ वर्ष), कृष्णा ताम्राकार (८२ वर्ष) र रामकृष्ण रेग्मी (७५ वर्ष) का अनुभव समेटिएका छन् ।
त्यस्तै डिजिटल साक्षरता पुस्तक सूचना प्रविधिको आधारभूत ज्ञान हासिल गर्न चाहनेका लागि महत्त्वपूर्ण हुने बताइएको छ । डिजिटल साक्षरता पुस्तकले डिजिटल डिभाइस, हार्डवेयर र सफ्टवेयर, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट, मोडेम, राउटर र स्विच, थ्रीजी, फोरजी र फाइभजी, इन्टरनेट सेवा प्रदायकका बारेमा जानकारी गराउने उहाँले बताउनुभयो । उक्त पुस्तकमा वेबसाइट, डोमेन नेम, सर्च इन्जिन, सामाजिक सञ्जाल, भिडियो र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैङ्किङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्रयाकिङका बारेमा जानकारी उपलब्ध छन् ।