मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका पहिरोमा परेका सबै ६ खेलाडीको शव फेला परेको छ । मकवानपुरको इन्द्रसरोवर गाँउपालिका–३ स्थित वात्सल्यदेवी उच्च माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना खेलाडीमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए ।
उनिहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको छ । उनिहरुलाई हेटौंडा ल्याउने पहल भईरहेको उहाँले बताउनुभयो । “खेलाडिहरुको शव हेटौंडा ल्याउने पहल भईरहेको छ, काठमान्डौलाने पनि कुरा भएको छ, अन्य तीन खेलाडीहरु सुरक्षित स्थानबाट हेलिकप्टेर भएको स्थानसम्म आउँदै गरेकाले काठमान्डौ लाने या हेटौंडा ल्याउने र्निक्यौल भईसकेको छैन ।” उहाँले भन्नुभयो ।
यता एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले सुरक्षित रहेका अन्य ३४ विद्यार्थीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजान थालिएको जानकारी दिनुभयो । ठकुरीका अनुसार बेपत्ता विद्यार्थीहरूमा मकवानपुरका अनुप घलान, दिवश बानियाँ र सुमन योञ्जन, काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका छन् । एन्फाले गत वर्ष श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै सिस्नेरीमा ४० विद्यार्थीलाई एकेडेमीमा राखेर नियमित अध्ययनका साथै नियमित फुटबल प्रशिक्षणसमेत दिने गरेको थियो ।