मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँलगायत १९ वटै वडाका अध्यक्ष र खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारीसहितको बैठकले खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको मेयर लामाले बताउनुभयो । उक्त निर्णय अनुसार खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका २३ हजार ५ सय धाराको हकमा लागू हुने मेयर लामाले बताउनुभयो । उक्त सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दाबी गरिएको छ । निःशुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयमा उल्लेख गरिएको छ । उपभोक्ता समितिमार्फत खानेपानी प्रयोग गरिएको हकमा भने विशेष निर्णय गर्ने मेयर लामाले बताउनुभएको छ । सत्तारुढ गठबन्धनले चुनावको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत् नि:शुल्क उपलब्ध गराउने घोषणा गरेका थियो । उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा समेत यो विषय समेटिएको थियो ।