रुसी सेनाले युक्रेनको ओडेसा बन्दरगाहको पूर्वाधारमा गरेको क्षेप्यास्त्र प्रहारबाट ठूलो नोक्सानी भएको युक्रेनले जनाएको छ । रुसी सेनाले प्रहार गरेको क्रुज मिसाइलका कारण सोही क्षेत्रका दुई वटा बन्दरगाहको पूर्वाधारमा क्षति पुगेको हो ।
रुस र युक्रेनले कृष्ण सागर मार्फत खाद्यान्न ढुवानी सुचारु गर्ने सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रुसी सेनाले युक्रेनको ओडेसा बन्दरगाहलाई तारो बनाएकाे हाे । युक्रेनको सबै भन्दा ठूलो ओडेसा बन्दरगाहमा लामो समयदेखि रुसले नाकाबन्दी गरेपनि उक्त बन्दरगाह किभकै नियन्त्रणमा थियो । बन्दरगाहमा पुगेको क्षतिले युक्रेनबाट हुने भनिएको खाद्यान्न निर्यात सम्झौता कार्यान्वयनमा समेत आशंका उत्पन्न भएको छ । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसको यो आक्रमण दुई देशको सम्झौता विपरित भएको भन्दै खेद प्रकट गर्नुभएको छ । रुसले खाद्यान्न ढुवानीमा असर पर्ने गरी कुनै प्रकारका आक्रमण नगर्ने सहमतिमा हस्ताक्षर गरेपनि उलंघन गरेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।