file photo

मकवानपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको शुक्रबार हेटौंडामा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिता आजको आवश्यक्ता रहेको बताउनुभयो ।

पत्रकार जगत उत्तरदायी भए समाज सहि गतिमा अघि बढ्ने भन्दै पत्रकारिता क्षेत्रले मुलुक र लोकतन्त्रलाई बलियो बनाउन भुमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘राजनीतिक स्थायित्वको विषयमा पत्रकारिता जगतले कलम चलाउनु आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ । ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ,’ उहाँले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध छ ।

उहाँले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताउनुभयो । प्रमाणमा आधारित सत्य–तथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको आवश्यकता रहेकाे उहाँकाे भनाइ छ । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘प्रविधिको विकासले सूचनालाई सहज, छिटो र छरितो बनाउने काम गरेको छ, अर्कोतिर मिथ्या सूचनाहरू फैलिनसक्ने चुनौती पनि त्यत्तिकै छ । पत्रकारिता क्षेत्र हिजोभन्दा आज झन् संवेदनशील, उत्तरदायी हुन आवश्यक छ । पत्रकारिताको संस्थागत विकास आजको आवश्यकता हो । स्वच्छ पत्रकारिताको प्रवर्द्धनका निम्ति प्रेस युनियन सक्रिय हुनुपर्छ ।’ प्रधानमन्त्री देउवाले सञ्चारकर्मीले कसैको प्रलोभन, भय र दबाबमा नआइ निष्पक्ष ढङ्गबाट पत्रकारिता गर्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताउनुभयो । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

महाधिवेशनबाट तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा संस्थापन र इतर समूह प्यानल बनाएरै निर्वाचनमा होमिने भएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । उदघाटन समारोहपछि सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुने जनाईएको छ । महाधिवेशनमा सहभागि हुन देशभरबाट करिब १६ सयको पत्रकारहरु हेटौंडा आएका छन् । महाधिवेशनको उदघाटन समारोहमा कांग्रेस बरिष्ट नेता रामचन्द्र पाैडेल, उपसभापति पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगाएतको आतिथ्यता रहेको थियाे ।