मकवानपुर – बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा प्रदेश सरकारको बितेको आर्थिक वर्षसम्मको बेरुजु रकम २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रुपैयाँ रहेको जनाईएको छ ।
महालेखा परिक्षकको कार्यालयले सार्वजनीक गरेको अन्तिम प्रतिवेदन अनुसार प्रदेश सरकारको बितेको आर्थिक वर्षमा मात्र एक अर्ब ९ करोड ४४ लाख १० हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ । बितेको आर्थिक वर्षमा बिभीन्न मन्त्रालय र मातहतका कार्यालयहरु, समितिहरुमा बेरुजु देखिएको छ । बढी बेरुजु रहेका मन्त्रालयहरु भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र मातहतका कार्यालयहरु रहेको उल्लेख छ ।
प्रतिवेदन अनुसार गत वर्षसम्म १ अर्ब ३८ करोड ५० लाख ८४ हजार बेरुजु रहेकोमा यो वर्ष १५ करोड ८९ लाख ६ हजार सम्परीक्षण भई १ अर्ब २२ करोड ६१ लाख ७८ हजार बाँकी रहेको र यो वर्ष १ अर्ब ९ करोड ४४ लाख १० हजार थप भई कुल बेरुजु २ अर्व ३२ करोड ५ लाख ८८ हजार कायम भएको उल्लेख छ । यो वर्ष १८९ (बक्यौता समेत) प्रदेश कार्यालयको लेखापरीक्षण गरेकोमा ७६ कार्यालय (४०.२१ प्रतिशत) मा लगती बेरुजु नदेखिएको साथै समिति तथा अन्य संस्था ११ (वक्यौता (समेत) मध्ये ७ कार्यालयमा लगती बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।