श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले सेनालाई देशमा पुनः ‘सुव्यवस्था कायम गर्न’ आवश्यक कदम चाल्न आफूले आदेश दिएको बताउनुभएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफु तत्पर रहेको हिंसालाई रोक्नुको विकल्प नरहेको बताउनुभएको हो ।
यसैबीच, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधवार संसद्लाई जानकारी गराउनुभएको छ । उहाँले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न पनि आह्वान गर्नुभएको छ । “हामी संविधान च्यात्न सक्दैनौँ । हामी फाँसीवादीहरूलाई आउन दिन सक्दैनौँ । हामीले प्रजातन्त्रप्रति रहेको यो फाँसीवादी खतरा टुङ्ग्याउनुपर्छ,” उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो ।