File photo

मकवानपुर –विद्यार्थीमाथि यौन दूर्व्यवहार गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका–९ का वडा अध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्किका अनुसार वडा अध्यक्ष घलानलाई मंगलबार दिउँसो हेटौंडा बजारबाट पक्राउ गरिएको हो ।
राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई हेटौंडा–१० स्थित होटलमै पुगेर वडा अध्यक्ष घलानले असार १८ गते राती यौन दूर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ । वडा अध्यक्षलाई पक्राउ गरेर म्याद थपका लागि जिल्ला अदालत मकवानपुरमा पेश गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका वडा अध्यक्ष घलानलाई हिरासतमै राखी आवश्यक अनुसन्धान गरिने समेत प्रहरी नायब उपरिक्षक कार्किले जानकारी दिनुभयो ।