राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट धनेन्द्र बस्नेत, डा.ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गर्नुभएको हो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गर्नुभयो । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ कोभिडका कारण गत वर्ष प्रदान गर्न नसकिएपछि यसपटक एकैपटक प्रदान गरिएको हो । ती पुरस्कारहरूको राशि सम्मान पत्रसहित नगद १ लाख रुपैयाँ रहेको छ । समारोहमा राष्ट्रपति भण्डारीले समाजवाद उन्मुख अर्थतन्त्र स्थापित हुनका लागि आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले यसका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण हाम्रो पहिलो प्राथमिकता बन्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले भौतिक विकासले मात्र सबै कुराको परिपूर्ति गर्न नसक्ने हुँदा इतिहास, कला, साहित्य, संस्कृतिका साथै विज्ञान तथा प्रविधिको विकासमा समेत उत्तिकै सबैको ध्यान जानुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनहरूमा पुष्पलाल श्रेष्ठको भूमिका सदैव अविस्मरणीय रहने बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधव कुमार नेपालले देशले प्राप्त गरेका उपलब्धिहरूमा पुष्पलालले गरेको योगदान सदैव नेपाली माझ ताजा रहिरहने र त्यसलाई प्रेरणाको रुपमा लिएर देशको समृद्धिका लागि अगाडी बढ्नुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री नेपालले पुष्पलाल श्रेष्ठका नाममा स्थापित पुरस्कारबाट सम्मानित हुने व्यक्तिहरूको योगदान नेपालको राजनीतिक, इतिहास, साहित्य एवं समृद्धिको क्षेत्रमा उच्च रहेकाले पनि यो पुरस्कारको गरिमा निकै बढेको पनि बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको बताउनुभयो ।