कोरोना भाइरसविरुद्धको थप २३ लाख मात्रा खोप आज आइतवार काठमाण्डौ आइपुगेको छ । पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको २२ लाख ९९ हजार दुई सय मात्रा कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाण्डाै आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
आज प्राप्त खोप असार ९ गतेदेखि अभियान सञ्चालन गरिएका २७ जिल्लामा पहिलो मात्रा लगाउन छुटेका बालबालिका र बाँकी रहेको दोस्रो डोजका लागि प्रयोग गरिने डा. चौरसियाकाे भनाइ छ । सरकारले २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो । पाँचदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । त्यसका लागि कोभ्याक्सले ८४ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने भएको छ । यसअघि कोभ्याक्स सुविधामार्फत गएको असार ६ गते पनि २२ लाख मात्रा खोप नेपाल भित्रिएको थियो । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आउँदाे साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ । सरकारले विद्यालयमै खोप केन्द्र तोकेको छ । देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ ।