सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना र प्रविधिमार्फत मुलुकलाई समृद्ध बनाउने राम्रो अवसर भएको बताउनुभएको छ । सूचना तथा प्रसारण विभागमा आज विभागका सेवाहरूको अनलाइन शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले सूचना प्रविधि क्षेत्रको स्वर्णिम अवसरलाई उपयोग गर्न सके मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउन सूचना र प्रविधिका क्षेत्रमा देखिएको अवसरको उपयोग गर्न अबको युगमा युवालाई आकर्षित गरिनुपर्ने उल्लेख गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले सरकारी सेवालाई पारदर्शी र सहज बनाउन सूचना र प्रविधिको उपयोगलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै सरकारी कार्यालयले दिने अनलाइन सेवाहरू प्रभावकारी, सुरक्षित र सहज हुनुपर्नेमा जोड दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले अनलाइन प्रणालीबाट सेवा प्रदान गर्दा लागत र समय घटेर सेवा भरपर्दो, सुरक्षित र सजिलो हुने बताउनुभयो ।उहाँले सूचना तथा प्रसारण विभागले आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीबाट सुरु गरेपछि सेवाग्राही विभाग धाउनुपर्ने बाध्यताको अन्त्य भएको समेत बताउनुभयो ।


विभागमा महानिर्देशक गोगनबहादुर हमालले प्रविधिलाई समयसापेक्ष सुधार गर्दै विभागका सेवालाई प्रभावकारी बनाउने धारणा राख्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले पत्रकारलाई परिचयपत्र नवीकरण लगायतका सेवा लिन सहज भएको बताउँदै अझै पनि श्रमजीवी पत्रकारका समस्याहरू रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक नपाउने गरेका कारण विभागबाट जारी हुने परिचय पत्र नवीकरण समेत न्यून रुपमा भइरहेको प्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनमा सरकार उदासीन रहेको उल्लेख गर्दै समयसापेक्ष तलब सुविधा वृद्धि गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । सूचना तथा प्रसारण विभागले आजदेखि आफ्नो सबै सेवा अनलाइनमार्फत गर्दै मुलुककै अनलाइन सेवा दिने पहिलो विभाग बनेको जनाएको छ ।