इजरायललाई पराजित गर्दै इङल्याण्डले यू-१९ युरो उपाधि जितेको छ । इङल्याण्डको युवा टोलीले शुक्रबार राति इजरायलको युवा टोलीलाई ३-१ ले पराजित गर्दै युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर इङल्याण्डले उपाधि जित्न सफल भएको हो । इङल्याण्डको जितमा कलुम डोयल, कारने चुकविमेका र आरोन राम्सेले गोल गरे भने इजरायलका ओस्कार ग्लोचको गोल गरे ।
खेलको ४० औं मिनेटमा ओस्कार ग्लोचको गोलबाट इजरायलले शुरुवाती अग्रता लिएको थियो । तर, ५२ औं मिनेटमा इङल्याण्डका कलुम डोयलले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । १०८ औं मिनेटमा कारने चुकविमेकाले गोल गर्दै इङल्याण्डलाई २-१ ले अघि बढाए । त्यसपछि ११६ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै इङल्याण्डलाई च्याम्पियन बनाए । इङल्याण्ड २०१७ पछि च्याम्पियन बनेको हो । यस च्याम्पियन बनेसँगै इंग्ल्यान्डले सर्वाधिक उपाधि जित्ने स्पेनको कीर्तिमानलाई भेट्टाएका छन् । स्पेन र इङल्याण्डले समान ११ पटक उपाधि जितेका छन् ।