हेटौंडा, १३ असार वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतीलाई पूर्णरुपमा कार्यान्वय गर्ने बताउनुभएको छ । आज प्रदेश सभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बजेटले सबै क्षेत्र र तप्कालाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै बजेट बनाउने क्रममा केही सीमा भित्र रहेर काम गर्दा कतिपय सन्तुलन नमिलेको हुनसक्ने कुरालाई स्वीकार गर्दै त्यस्ता कमजोरी सच्याएर जान सकिने बताउनुभयो । मन्त्री जम्कट्टेलले सरकारले बदनियत राखेर कसैलाई पनि कर छुट दिने निर्णय नगरेको बताउनुभयो । आजको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का प्रमुख सचेतक दीपक निरौलाले सरकारले प्रतिपक्षीले उठाएका सबै बिषय सम्बोधन हुन नसकेको बताउनुभयो । सरकारले सिमेन्ट उद्योगलाई अनावश्यक रुपमा कर छुट दिने निर्णय गरेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सिमेन्ट उद्योगहरुको कर सम्बन्धी कुरा अदालतमा विचाराधीन रहेकोले अदालतमा विचाराधीन विषयवस्तुलाई प्रभावित पार्नेगरी सरकारले हस्तक्षेप गर्नु अनुचित हुने उहाँको भनाई छ । उहाँले बजेटलाई समावेशी र समानुपातिक बनाउन कस्तो पहल गरिने हो स्पष्ट पार्न अनुरोध गर्नुभयो । अर्थमन्त्रीको जवाफमा प्रतिपक्षी एमालेले पूर्ण विश्वास गर्न नसकिने बताएपछि प्रदेश सभामा पुन जवाफ दिँदै मन्त्री जम्कट्टेलले बजेटलाई समावेशी र समानुपातिक बनाउन तथा प्रतिपक्षीको माग सम्वोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । प्रतिपक्षीको माग सम्वोधन हुने भएपछि बैठक सूचारु भएको छ ।