मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठक नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । मंगलबार बिहान बोलाईएको बैठकमा विभिन्न विषयमा असहमती जनाउँदै कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् ।
बार्यपालिका सदस्यहरुले नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिहरुमार्फत आउनुपर्ने प्रक्रियाअनुरुप नल्याइएकोले बिमति जनाउँदै बैठक बहिष्कार गरेको नेकपा एमालेबाट निर्वाचित १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाको ५ वटा विषयगत समितिहरु गठन हुन सकेको छैन । मेयर र उपमेयरको संयोजकत्वमा रहने समितिले पनि पूर्णता पाउन सकेको छैन ।
नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले नगर कार्यपालिका तथा वडा समितिको बैठक सञ्चालनसम्बन्धी कार्यविधि र नियमावलीमा संशोधन गर्नुपर्ने प्रस्ताव पनि दर्ता नगरेको जनाएको छ । कार्यविधि र नियमावलीमा संशोधन प्रस्ताव नै दर्ता गर्न समेत नमान्ने, विधिअनुसार बजेट नआएकै कारण बैठक बहिष्कार गर्न बाध्य भएको कार्यपालिका सदस्य सुनिल मोक्तानले जानकारी दिनुभयो ।
यता अल्पमतमा परेको नगरकार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले असहमति जनाउँदै बीचैमा छाडेर हिँडेपछि अल्पममा परेको कार्यपालिका बैठकले नीति, कार्यक्रम तथा बजेट पारित गर्ने निर्णय गरेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बैठकमा उपस्थित कार्यपालिका सदस्यहरुले बैठक छाडेर गएपछि उपमहानगरपालिकाका योजना, बजेट, सूचना तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम तथा बजेटको मस्यौदा छलफलपछि नगरप्रमुख मीना कुमारी लामाले नगर परिषद्मा पेश गर्ने निर्णय गर्नुभएको जानकारी दिनुभयो । २९ सदस्यीय कार्यपालिकामध्ये नेकपा एमालेबाट निर्वाचित १८ जना कार्यपालिका सदस्य छन् । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि साढे २ अर्ब रुपैयाँ भन्दा बढीको बजेट तयार हुने प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
एमालेले पेश गरेको संशोधन प्रस्ताव