पेट्रोलियम पदार्थको भाउ बढेसँगै यातायात व्यवसायीले आफूखुशी भाडा लिन थालेका छन् । लामो तथा मध्यमसँगै छोटो दूरीमा पनि यात्रु बढी भाडा तिर्न बाध्य भएका छन् । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा घटबढ हुँदै आएको छ । त्यसअनुसार यातायात व्यवस्था विभागले हिजोदेखि लागू हुने गरी एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा भाडा समायोजन गरेको छ ।
तर प्रदेशभित्र तथा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीमा पनि व्यवसायीले भाडा बढी लिन थालेका छन् । काठमाण्डौ उपत्यकामा न्यूनतम भाडा २० रुपैयाँ भए पनि पेट्रोलियम पदार्थको भाउ बढेसँगै हिजोदेखि नै २५ रुपैयाँ तिर्न थालेको यात्रुको गुनासो छ । गाडी चालकले पनि पेट्रोलियम पदार्थको भाउ बढेकाले भाडा बढाउन बाध्य भएको बताएका छन् । हवाई इन्धनको समेत भाउ बढे पछि आन्तरिक हवाई भाडा पनि बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएर १ सय ९९ रुपैयाँ पुर्याएको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको भाउ १ सय ९२ रुपैयाँ पुगेको छ । इन्धनमा भाउ बढेसँगै ढुवानी भाडा बढ्ने भएकाले खाद्यान्नलगायत अन्य सामग्री समेत महँगो हुने व्यापारीको भनाइ छ । उपभोक्ता महँगीको मारमा परेका छन् ।