मकवानपुर – किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको राजिनामा माग गरिएको छ । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बागमती प्रदेश कमिटीले मंगलबार मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गर्दै प्रदेश सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको भन्दै राजिनामा माग गरेको हो ।
अखिल नेपाल किसान महासंघ बागमती प्रदेश कमिटीका संयोजक सुरेन्द्र मोहन शर्माले अहिले किसानलाई मल आवश्यक पर्ने बेलामा मलको उपलब्ध नहुनु प्रदेश सरकारको कमजोरी रहेको बताउनुभयो । धान र मकै बालीलाई यो समयमा मल चाहिने भए पनि प्रदेश सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले किसानलाई मल उपलब्ध गराउन नसक्ने मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने बताउनुभयो । बिरोध प्रर्दशनमा सहभागीहरुले ‘किसानलाई तुरन्त मल उपलब्ध गर’, ‘किसानलाई मल उपलब्ध गराउन नसक्ने प्रदेश सरकार मुर्दावाद’, ‘मुख्यमन्त्री राजिनामा दे’,‘किसान परिचय पत्र लागु गर’, ‘सबै किसान एक हौँ’ जस्ता नारा लगाएका थिए । सहभागीहरुले मुख्यमन्त्री कार्यालयको गेटमा धर्ना समेत दिएका थिए ।
किसान महासंघले प्रदेश सरकारलाई मल उपलब्ध गराउन ध्यानाकर्षण पत्र समेत बुझाएको छ । मुख्यमन्त्रीको उपस्थिति नभएकाले प्रदेश सरकारका निमित्त सचिव एमलाल भुषालले ज्ञापनपत्र बुझ्नु भएको थियो । ज्ञापन पत्र प्रस्तुत तथा विरोध कार्यक्रममा किसान महासंघका केन्द्रीय सदस्य शम्भु सुवेदी, बिनोद पौडेल, प्रदेश सचिव अरुण कुमार र किसान महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।