मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन प्रकृया सुरु भएको छ । असार २ गते हुने निर्वाचन अन्तर्गत आज मनोनयन प्रकृया सुरु भएको हो ।
निर्वाचन कार्यातालिका अनुसार आज मुख्य निर्वाचन कार्यालयमा गठबन्धन र एमालेले छुट्टा छुट्टै मनोनयन दर्ता गराएका छन् । आज तोकिएको कार्य तालिकामा गठबन्धनको तर्फबाट हेटौंडा–१२ का वडा अध्यक्ष नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान र नेकपा एमालेबाट ईन्द्रसरोबर–३ का वडासदस्य बुद्धिराम डिम्डुङले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस्तै उपप्रमुखमा भने गठबन्धनका तर्फबाट मनहरी–३ का वडासदस्य सानुकाजी लुइटेलले मात्र उम्मेदवारी दर्ता गराउनु भएको कार्यालयले जनाएको छ ।
त्यस्तै ३ जना महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णमाया थपलिया, सुमिता थिङ र नेकपा एमालेबाट बिना कुमारी थिङ लामाको उम्मेदवारी परेको छ । यस्तै दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको कार्यालयले जनाएकोछ ।
त्यसतै खुलातर्फ ३ जना सदस्यमा पनि ४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ । भने, नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
जिसस पदाधिकारीका लागि असाढ २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्मको निर्वाचनको कार्य तालिका रहेको छ । भने, मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतदान केन्द्र तोकिएको छ । मकवानपुरका १० वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको सदस्यको निर्वाचनमा मतदान गर्न पाउनेछन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि मतदान हुनेछ । जसमा कांग्रेसको ९, माओवादी केन्द्र ७, नेकपा एमाले ३ र नेकपा (एस) को १ जनप्रतिनिधि रहेका छन् ।