हेटौंडाः महिलामाथि भएका बलात्कार तथा यौनजन्य अपराधमा उजुरीका लागि राखिएको हदम्याद हटाउन माग गर्दै अखिल नेपाल महिला (अनेम) संघ मकवानपुर जिल्ला कमिटीले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार अनेम संघ मकवानपुरका पदाधिकारी तथा सदस्यहरुको एक समूहले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।
महिला अधिकार हनन्, महिलामाथि हुने हिंसा, शैक्षिक क्षेत्रजस्तो संवेदनशील क्षेत्र तथा अन्य कार्यक्षेत्रमा भएका श्रृंखलाबद्ध यौनजन्य दुव्र्यवहार, बलात्कारपछि हत्याजस्ता गम्भीर प्रकृतिका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेको उल्लेख गर्दै बालिका, किशोरी र महिलाहरुको जीवनको सुरक्षामा ठूलो प्रश्नचिन्ह खडा भएको ज्ञापनपत्रमा भनिएको छ । दैनिक उपभोग गर्ने अति आवश्यक खाद्यपदार्थको मूल्य बढ्दा सर्वसाधारण जनताको जीवन अस्तव्यस्त भएको र स्थानीय निर्वाचन सकिँदा नसकिँदै गठबन्धन सरकारले जनतालाई महंगीको मारमा पारेको विषयसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
हालै सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा सत्ता गठबन्धनले पालिकाहरुमा प्रमुख र उपप्रमुखको उम्मेदवारी दिएको पुरुषलाई मात्र प्राथमिकतामा राख्दा प्रायः पालिकाहरुमा पुरुषहरु नै विजयी भएको विषयमा पनि अनेम संघले ध्यानाकर्षण भएको जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा सत्ता गठबन्धनले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य दोब्बर बढाएको ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझाउन अनेम संघ मकवानपुर जिल्ला कमिटीकी अध्यक्ष सुमित्रा काफ्ले, केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेशसभा सदस्य जुनेलीमाया श्रेष्ठ, अनेम संघको सचिवालय सदस्य जुना दाहाल, पार्वती राना, मेनुका दाहाललगायतको उपस्थिति थियोे । समृद्धसमाजबाट