मकवानपुर – बागमती प्रदेशको प्रदेश सभा बैठक आज पन जारी रहेको छ । प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा हिजो प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले पेश गर्नुभएको आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ ।
बैठकमा प्रदेशसभाका सदस्यहरु बजेटको सिद्धान्त र प्राथमिकता छलफल भन्दा पनि एक अर्कालाई आरोप प्रत्यारोपमा व्यस्त छन् । बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले सरकारमा रहेका दलहरुले गरेको कामका विषयमा औला ठड्याउने र सत्तापक्ष दलहरुले प्रतिपक्षी दल एमालेका नेताहरुलाई ब्यङग्य गर्नमा व्यस्त छन् । असारमा ल्याउने बजेट सरकारले कस्तो ल्याउनुपर्छ कस्ता विषयलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा भन्दा पनि अन्य विषयमा छलफल केन्द्रित रहेको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले हालै सम्पन्न स्थानीय निर्वाचनलाई प्रभावित पार्न बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना ऐन विपरित बाँढेको आरोप लगाउनु भएको छ । प्रदेश सभामा बैठकमा बोल्दै उहाँले संसद हुँदाहुँदै चल्न सक्ने अवस्था हुँदा हुँदै पनि प्रदेश सरकारले संसदलाई छलेर निर्वाचन प्रभावित पार्न २३ सय योजना ल्याएको आरोप लगाउनुभयो । उहाँले २३ सय योजना बाढ्दा पनि गठबन्धनको प्रदेश सरकारले चालु वर्षको पुजिगत खर्च २८ प्रतिशत भन्दा माथि जान नसकेको बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उदेश्य सत्ता हत्याउन नभई प्राप्त उप्लब्धी जोगाउनु रहेको बताउनुभयो । प्रदेश सभामा हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको टिका टिप्पणी धेरै भएको भन्दै उहाँले प्राप्त उप्लब्धी जोगाउन गठबन्धन भएको दाबी गर्नुभयो ।
यस्तै बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीका नेता विराजभक्त श्रेष्ठले ‘कमरेड’ शब्द बदनाम हुँदै गएको बताउनु भएको छ । ‘अघि कमरेड भन्ने कुरा आयो । अहिले बजारमा कमरेड भन्ने शब्द यस्तो बदनाम भएको छ कि, अस्ती म चुनावमा घुम्दै जाँदा एक जना कमरेडलाई कमरेड के छ भनेको उहाँले कमरेड चाँही नभनिदिनुस् बाबु । आजकाल यो कमरेड शब्द सुन्दा गालि गर्या जस्तो लाग्छ भन्नुभयो ।’ उहाँले भन्नुभयो । प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाईट बालेर खोज्नुपर्ने अवस्था आएको भन्दै टिप्पणी गर्नुभयो । उहाँले जनताले सरकारको महशुससमेत गर्न नसकेको बताउनुभयो । नेतृ शाक्यले सरकारले जनताको जीवनलाई सहजता प्रदान गर्नुपर्ने भएपनि त्यसतर्फ काम गर्न नसकेको बताउनुभयो ।