मकवानपुर – मकवानपुरका स्थानीय तहहरुको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही जेठ १९ गतेबाट शुरु हुने भएको छ । हेटौंडामा आज पत्रकार सम्मेलन आयोजना गरेर चौंथो संस्करणको गोल्डकप आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
प्रतियोगितालाई मकवानपुरको १० वटै स्थानीय तहले आर्थिक सहयोग गर्दै छन् । प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाहरुले ५–५ लाख सहयोग गर्ने भएका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका फुटबल क्लब साथै मोफसलका क्लब, विदेशी टोलीसंगै आयोजकको तर्फबाट विजय युथ क्लबको सहभागिता रहने प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा संयोजक बिष्टले यसवर्ष प्रतियोगिताको विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने जानकारी दिनुभयो । यसअघि तेस्रो गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख हात पारेको थियो । यस्तै प्रतियोगितामा विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् भने, सर्वोत्कृष्ट खेलाडीले ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । साथै हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्ने बिष्टले बताउनुभयो । प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ ।