गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।
मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए । काठमाडौं र तिलोत्तमामा पनि मतगणना अन्तिम चरणमै पुगेको छ । त्रियुगामा भने मतदानमै विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएकोले मतपरिणाम आउन समय लागेको हो । सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।