हेटौंडा । सरकारले हप्तैपिच्छे पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि गरेपछि बागमती प्रदेशको राजधानी हेटौंडामा फरक शैलिमा विरोध प्रदर्शन गरिएको छ । मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ, मुस्लिम ईत्तेहाद संघ लगाएत जनवर्गिय संगठनहरुले सडकको बीच भागमा मूल्यवृद्धि विरुद्ध फरक शैलिमा विरोध प्रदर्शन गरेका हुन् ।
उनिहरुले पेट्रोलियम पर्दाथमा भएको मूल्यवृद्धिले सवारी साधन चलाउन नसकिने संकेत गर्दै हेटौंडाको सिमाचोकबाट मोटरसाईकल डोराएर मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरे । यसैगरि,उनिहरुले सामान्य नागरिकले खाना पकाउने ग्याँस खरिद गर्न नसकिने गरि मूल्यवृद्धि भएको संकेत गर्दै सडकमै दाउरा बालेर चिया पाएर समेत प्रदर्शन गरे । उनिहरुले विरोध प्रदर्शनमा मूल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मूल्यवृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड बोकेका थिए । सरकारले गरेको मूल्यवृद्धि विरुद्ध देशभर प्रदर्शन भईरहेको छ । सरकारले आइतबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको थियो । यो संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ र ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।