मकवानपुर – नेपालकाे संविधान २०७२ ले महिलाको अधिकार स्थापित गर्ने उदेश्यका साथ हरेक क्षेत्रमा महिला प्रतिनिधित्वको परिकल्पना गरेको भएपनि दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा स्थानीय तहमा भने महिलाहरूको नेतृत्व संख्यात्मक रुपमा खुम्चिएको छ । गत बैषाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भागबन्डाको नाममा सक्षम भएर पनि महिलाहरू नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको छ ।
मकवानपुरमा पनि नेकपा (एमाले)का विरुद्ध पाँचदलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा थियो । गठबन्धनबाट अधिकांश स्थानीय तहको प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष पदमा पुरुष उम्मेदवार थिए । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिकरूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनकै कारण उनीहरू नेतृत्वमा आउने बाटो रोकिएको हो ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तह मध्ये थाहा नगरपालिका बाहेक ९ स्थानीय तहमा कम्तीमा महिलालाई उपप्रमुखको जिम्मेवारी प्राप्त भएको थियो । जिल्ला समन्वय समिति र जिल्लाका १० वटा स्थानीय तह गरेर उपप्रमुख पदमा १० जना महिलाले अवसर पाएका थिए । तर, अहिले त्यो संख्या खुम्चिएर तीनमा झरेको छ । मकवानपुरमा गठबन्धनबाट स्थानीय तहको प्रमुखमा एकमात्र महिला उम्मेदवार एकिकृत समाजवादीकी मिनाकुमारी लामा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा विजयी हुनुभयो । भने, उपप्रमुखमा मकवानपुरगढी र मनहरीमा उपप्रमुख पदमा विजयी हुनुभएको छ । महिलाले उम्मेदवारी दिएको मकवानपुरगढी र मनहरीमा जित हासिल गरेपनि गठबन्धनमा आवद्ध दलले अरु स्थानीय तहको प्रमुख–उपप्रमुखमा महिलालाई उम्मेदवार नै बनाएनन् ।
एमालेले भने जिल्लाको १० वटै स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा महिला उम्मेदवार बनाए पनि भीमफेदी गाउँपालिकामा प्रमुख र ईन्द्रसरोवर गाउँपालिकामा प्रमुख उपप्रमुख बाहेक सबै पराजित भए । एमालले जिल्लाको बकैया गाउँपालिकामा प्रमुख पदमै महिला उम्मेदवार खडा गरेको थियो । भने, अन्य स्थानीय तहमा उपप्रमुखमा महिलाको उम्मेदवारी दिएको थियो । गठबन्धन गरे पनि दलहरुले महिला उम्मेदवारलाई अघि सार्न नसक्दा नेतृत्वमा पुरुष नै हाबी भएका हुन् । दलहरुले उम्मेदवार छनोटमा पुरुषलाई नै प्राथमिकता दिएपछि महिलाहरुमा असन्तुष्टि पनि बढेको छ ।
जिल्लाका दश स्थानीय तहमा रहेका १०२ वडाको वडाध्यक्षमा पनि पुरुषकै प्रतिनिधित्व बढी छ । १० स्थानीय तह र १०२ वडा रहेको मकवानपुरमा जम्मा ४ जना महिलाले नेतृत्वको अवसर पाएका छन् । जसमा एक जना पालिका प्रमुख र तीनजना महिलालाई वडाको नेतृत्व गर्ने अवसर जुटेको छ । हेटौंडा उपमहानगरपालिकामा मिनाकुमारी लामाले नेतृत्व पाउनु भएको छ । भने हेटौंडाकै वडा नम्बर ११ मा नेकपा एमालेबाट जुना दाहाल, बकैया गाउँपालिका वडा नम्बर ५ र १० मा गठबन्धनबाट कांग्रेसका कमला वाईवा र लक्ष्मी जिम्बाले महिलाको प्रतिनिधित्व गर्दै नेतृत्व गर्ने अवसर पाउनु भएको छ । प्रमुख वा उपप्रमुख मध्ये एकमा महिला अनिवार्य भनिएता चुनाव जित्नकै लागि राजनीतिक दलहरू गठबन्धन गर्दा महिला पाखा लागेका हुन् । अघिल्लो पटक निर्वाचनमा ५० प्रतिशत पप्रतिनिधित्व गरेका महिला यो पटक गठबन्धनका नाममा ओझेलमा परेका हुन् ।