मकवानपुर – बागमति प्रदेशको राजधानी समेत रहेको एकमात्र हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला नगर प्रमुख पाउने भएको छ । लामो समय एमालेको किल्लाको रुपमा रहेको मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिनु भएकी लामालाई जित हासिल गर्न कठिन हरेको आकंलन गरिएको थियो । तर, मतगणना अन्तिम चरणमा आइपुग्दासम्म उहाँको जित निश्चित भएको छ ।
मत गणनाका क्रममा लामालाई आएको मतको अवस्था र उहाँको अग्रतालाई हेर्दा हेटौंडावासीले पहिलो महिला नगर प्रमुख पाउने पक्कापक्कि देखिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपप्रमुखको रुपमा भारी मतले विजयी हुनु भएको थियो । एमालेको विभाजन पछि नेकपा एकीकृत समाजवादीमा रहनु भएकी उहाँले गठबन्धनको तर्फबाट उम्मेदवार दिनुभयो ।
हालसम्मको मतगणनालाई हेर्दा उहाँको प्रतिस्पर्धी रहनु भएका एमालेका अनन्त प्रसाद पौडेल र राप्रपाका दिपक बहादुर सिंह निकै पछाडी हुनु हुन्छ । सुरुवाती मतगणनामा पौडेल कहिले पौडेल त कहिले सिंहको अग्रता रहेपनि अनेपेक्षित मतले हेटौंडाको चनावी माहोल ततायो । एमालेको लालकिल्ला मानिएको नगरका वडाहरुका अपेक्षित मत पौडेललाई आउन सकेन ।
लामाको लगातारको अग्रता र मतपरिणामले हेटौंडाले महिला मेयर पाउने देखिन्छ । अघिल्लो कार्यकालमा उपप्रमुख भएर काम गर्नुभएकी लामालाई नगर प्रमुख भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने अवसर प्राप्त हुने देखिन्छ । गठबन्धनबाट नगरप्रमुख भए पनि लामालाई काम गर्न भने त्यति सहज देखिन्न् । नगरका १९ मध्ये ९ वटा वडामा एमालेले जितेको छ । हेटौंडाको पहिलो महिला मेयर भई उत्कृष्ठ कार्य सम्पादनबाट हेटौंडाको मुहार फेर्न लामा कतिको सफल हुनेछिन त्यो हेर्न बाँकी रहने छ ।
को हुन मिना कुमारी लामा ?
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा जन्म भएको मीना कुमारी लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो । २०४६ सालबाट विद्यार्थी जीवनबाट नै राजनितीमा यात्रा सूरु गर्नु भएकी हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नाकोत्तर र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी.सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडी बढ्नुभयो ।
२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनितीसँगै अध्ययनलाई अगाडी बढाउदै २०५४ सालमामा हेटौंडा–१ का सुनकुमार लामासंग उहाँको विवाह भयो । श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै दुई सन्तानकी आमा मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाएर राजनीति संगै अघि बढ्दै २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गर्नुभयो ।
२०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत हुनुभयो । लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनु हुन्छ । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुल्नु भएकी उहाँ सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य हुनुभयो । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसक्नु भएको छ । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको थियो ।