मकवानपुर- ३ नम्बर प्रदेशका प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सोमबार नियुक्तिसङ्गै सपथग्रहण गर्नुभएको छ । आयोग अध्यक्षमा नियुक्त भएसङ्गै श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको हो ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको सिफारिस समितिको सिफारिसमा उहाँलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नियुक्त गर्नुभएको हो । उहाँलाई सोमबार एक समारोहका बिच ३ नम्बर प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथग्रहण गराउनु भएको हो । यस अघि उहाँलाई सोमबारै प्रदेश प्रमुखले नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।
पूर्वसचिव समेत रहनुभएका श्रेष्ठलाई मुख्यमन्त्री डोरमणि पौडेल संयोजक र सदस्यहरुमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको समितिले प्रदेश लोकसेवा आयोगको अध्यक्षकालागि गत कार्तिक २७ गते सिफारिस गरेको थियो । समितिले सिफारिसपछि प्रदेश प्रमुखले उहालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो ।
सफथ ग्रहण पश्चात पत्रकारहरुसंग संछिप्त प्रतिकृया दिँदै अध्यक्ष श्रेष्ठले निश्पक्ष ढंगले राम्रा र योग्य व्यक्तिलाई निजामति सेवामा प्रवेश गराउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले कुनै दल वा निकटताका आधारमा कसैलाई पनि विभेद नगरिकन कर्मचारी व्यवस्थाको काम गर्ने बताउनुभयो । प्रदेश नम्बर ३ मा सक्षम जनशक्ति नियुक्त हुने उहाँले अध्यक्ष श्रेष्ठले दावि गर्नुभएको छ । त्यस्तै आयोगको रिक्त सदस्य पदमा नियुक्तिका लागि समेत पहल गर्ने उहाँले बताउनुभएको छ ।
२०१५ सालमा लमजुङको दुराडाँडामा जन्मिनुभएका श्रेष्ठले २०४१ सालमा शाखा अधिकृतबाट निजामती सेवा शुरु गर्नुभएको थियो । ३२ वर्ष निजामती सेवामा काम गर्नुभएका उहाँले श्रम तथा रोजगार मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
सपथ ग्रहण कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका विभिन्न मन्त्रीहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुालललगायत विभिन्न सरकारी कार्यालयका उच्चपदस्त कर्मचारीहरुको सहभागीता थियो ।