हेटौंडा, २० बैशाख नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार अनन्त पौडेलले नेकपा एसबाट उम्मेदवार बनेकाहरुलाई एमालेकै नुन खाएर बैरीको गुन गाउन गएको बताउनुभएको छ । हेटौंडा-१३ पदमपोखरी र हेटौंडा-१५ चिप्लेटीमा भएको चुनावी सभामा बोल्नुहुँदै उहाँले अहिले एमालेको बिरुद्धमा उम्मेदवारी दिएका ब्यक्ती अघिल्लो पटक एमालेको मतबाट जितेर एमालेलाई नै घात गर्दै गठबन्धनबाट उम्मेदवार बनेको बताउनुभयो।

एमाले माथी भएको यो घात सम्पुर्ण एमालेलाई माया गर्ने मतदाता माथी नै घात भएको पनि उहाँको भनाई थियो । उहाँले भन्नुभयो -“हामीले नै पढाएर बढाएर हुर्काएकाहरु अहिले एमालेकै नुन खाएर बैरीको गुन गाउँदै गठबन्धनबाट एमालेको विरुद्धमा उम्मेदवार बन्दै छन् ।” अघिल्लो निर्वाचनमा घामपानी नभनी जिताएकाहरु नै अहिले हाम्रो पार्टीको विरुद्धमा आउँदा एमालेलाई माया गर्ने जोकोहीलाई पनि सह्य नहुने पौडेलले बताउनुभयो । राप्रपाबाट मेयरको उम्मेदवार दिपक सिंहलाई समेत व्यंग्य गर्नुहुँदै आफुले निर्वाचनमा पराजित गरिदिएको ब्यक्ति १० वर्षसम्म काठमाडौं गएर सुतेर अहिले निर्वाचन आएपछी फेरि दोहोर्‍याएर आफुबाट नै पराजित हुन आएको समेत बताउनुभएको छ । यस्ता उम्मेदवारहरुले विभिन्न प्रलोभन लिएर आउन सक्ने भएकाले सबैजना चनाखो हुन समेत उहाँले आग्रह गर्नुभएको छ । अब एमालेले स्थानीय तहसँगै ६ महिनापछि हुने प्रदेश र संघिय चुनावमा पनि जीत हात पार्दै प्रदेश र स्थानीय तहको समन्वयमा अव्यवस्थित बस्तीहरुलाई ब्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । आफू २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हुँदा बाढीपिडितहरुलाई हेटौंडा-१३ बनस्पतिमा ८ महिना भित्र ४ सय घर निर्माण गरि ब्यवस्थापन गरेको सम्झना गर्नुहुँदै उम्मेदवार पौडेलले बस्ती ब्यवस्थापनको काम गर्न आँट चाहिने भएकाले त्यो काम आफुले र एमालेले मात्र गर्न सक्ने बताउनुभयो । त्यसैले अब सबै हेटौंडाबासीले बुझेर एमालेमा भोट हाल्नुपर्ने समेत उहाँले बताउनुभएको छ ।

No description available.

यसैगरी नेकपा एमालेका नेता श्रीधर पोखरेलले नेकपा एमालेले जे बोल्छ त्यो गरेरै छाड्ने बताउनुभएको छ । हेटौंडा-स्थानिय सरकार र प्रदेश सरकारले यहाँको बस्ती ब्यवस्थापनको लागि बजेट छुट्याएको भएपनि केन्द्रिय सरकारको स्वीकृती प्राप्त नहुँदा बजेट फ्रीज भएकाले अबको नयाँ सरकार बनेपछी उक्त काम हुनेमा बिश्वस्त हुन उहाँले आग्रह गर्नुभएको छ । आसन्न निर्वाचनमा सम्पुर्ण जनसमुदायले एमालेलाई नै भोट हाली अहिलेको गठबन्धनलाई चरीनङ्गा जस्तै नाङ्गो पार्नुपर्ने समेत उहाँको भनाई छ । एमालेले जनताको बिश्वास नतोड्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।