निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचनको निष्पक्षता र गरिमामा आँच पुर्याउने सामग्री पोस्ट नगर्न सबै प्रयोगकर्तालाई आग्रह गरेको छ । आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी राजनीतिक दल तथा निर्वाचनका उमेद्वारलाई लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको हो ।
फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जाल तथा आमसञ्चारका माध्यमहरूमा गलत र भ्रामक सामग्री प्रयोग गरी उमेद्वारको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, वा निर्वाचनलाई प्रत्यक्ष असर पार्ने कुनै पनि सामग्री प्रयोग नगर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आग्रह गर्नुभयो । आयोगले सामाजिक सञ्जालको उपयोग र नियमनलाई प्रभावकारी बनाई निर्वाचनसम्बन्धी सूचनालाई भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाउन विभिन्न आचारसंहिता तथा नीतिहरू सार्वजनिक गरेको उल्लेख गर्दै त्यसको पालना गर्न सरोकारवाला सबैको ध्यानाकर्षण गरेको छ ।
आयोगले राजनीतिक दल र उम्मेदवारले आफ्नो प्रचार प्रसारका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने भएमा सो विवरण उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घण्टाभित्र दलको हकमा निर्वाचन आयोग र उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा आफ्नो सामाजिक सञ्जाल खाताको विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । आयोगले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्ने गरी सीमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रसारण माध्यमबाट कुनै सामग्रीको प्रसारण गर्न तथा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा समाचार, समाचार टिप्पणी, विचार वा यस्तै प्रकृतिको सामग्री प्रसारण गर्न पनि आग्रह गरेको छ ।
आयोगले छिमेकी देशका सञ्चार माध्यमबाट हुन सक्ने राजनीतिक दलको प्रचार–प्रसार वा विज्ञापन नियन्त्रण गर्न नेपाल सरकार मार्फत छिमेकी देशको सरकारलाई अनुरोध गरी पठाउन निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । सामाजिक सञ्जालको नियमनलाई प्रभावकारी बनाउन फेसबुक, ट्विटर, टिकटक, भाइबर र गुगलका कार्यालयमा सम्पर्क गरी आवश्यक प्रबन्धका लागि अनुरोध गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।