हेटाैंडा – १३३औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा भोली बैशाख १८ गते हेटौँडामा आयोजना हुने बृहत आमसभाको सम्पूर्ण तयारी पुरा भएको छ । एमाले मकवानपुरले शनिबार (आज) हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर आमसभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले संवोधन गर्नु हुने आमसभाको तयारी पुरा भएको जानकारी दिनुभयो । नेकपा एमाले मकवानवपुर तथा जिफन्ट बागमती प्रदेशको आयोजना हुने आमसभालाई भब्य बनाउनको लागि जिल्लाको १० वटै स्थानीय तहमा कार्यकर्ता परिचालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हेटौँडाको हुप्रचौरमा हुने आमसभामा ४० हजार कार्यकर्ता सहभागि हुने उहाँले जानकारी दिनुभयो ।एमालेले श्रमिक दिवसलाई महत्वको साथमा लिँदै आएको र हेटौँडाको सन्द्यर्भमा श्रमिक आन्दोलनको उर्भर भूमि रहेको भन्दै अध्यक्ष श्रेष्ठले भोली हुँने आमसभालाई भब्य बनाईने बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग तथा स्वतन्त्र रहेका नागरिकहरुलाई पनि एमालेमा स्वागत गरिने भन्दै श्रेष्ठले आमसभा अघि हेटौँडा नगरको चार क्षेत्रबाट र्यालीको आयोजना हुने बताउनुभयो । ४ सय भन्दा धेरै स्वयमसेवकको परिचालन हुने आमसभाका अध्यक्ष ओलीले दिउँसो १ बजे संवोधन गर्नु हुने कार्यतालिका रहेको छ ।