हेटाैंडा – यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ । आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि शनिबार चुनाव चिह्न वितरण गरिन लागेको हो ।
स्थानीय निर्वाचन २०७९ मा ७९ राजनीतिक दलले भाग लिँदैछन् । यस्तै उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । सबैभन्दा बढी काठमाडौँमा ५६ दल र सबैभन्दा कम डोल्पामा ११ दलले प्रतिस्पर्धा गर्ने आयोगले जानकारी गराएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय मान्यता प्राप्त छ दलसँगै निर्वाचन कार्यालय र आयोगमा तोकिएको समयभित्र साङ्गठनिक विवरण बुझाएका राजनीतिक दललाई उक्त दलले दर्ताको समयमा पाएको चुनाव चिह्न पाउनेछन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवारले भने निर्वाचन अधिकृतको कार्यालयले राखेको चुनाव चिह्न ‘बैङ्क’बाट चिह्न रोज्न पाउनेछन् ।