मकवानपुर । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट हेटौंडाका मेयर र उपमेयरका उम्मेदवार अनन्त पौडेल र समित्रा काफ्लेले विद्यार्थीका कुरा सुन्ने भएका छन् । निर्वाचनमा विजय प्रश्चात हेटौंडा उपमहानगरपालिकालाई कस्तो बनाउने भन्ने योजनाको खोजीमा पौडेल र काफ्लेले विद्यार्थीसँग साक्षात्कार गर्न लागेका हुन् । एमाले मकवानपुरका पुराना नेता पौडेलले १५ वैशाख अर्थात भोली बिहीवार विद्यार्थीको नजरमा हेटौंडाको विकासका लागि योजना सुन्ने छन् । कार्यक्रममा हेटौंडा नगरलाई कसरी विद्यार्थी मैत्री बनाउने र युवा–विद्यार्थीले खोजेको नगरको परिकल्पना बारे चर्चा हुने अनेरास्ववियु मकवानपुरका सहसचिव प्रमोद फुयाँलले जानकारी दिए । ‘कार्यक्रममा मेयर र उपमेयरका उम्मेदवारले विद्यार्थीहरुसँग साक्षात्कार गर्नुहुन्छ । विद्यार्थीहरुले देखेको नगरभित्र गर्नुपर्ने काम र विद्यार्थी मैत्री बनाउने कसरी भन्नेमा अन्तरक्रिया केन्द्रित हुनेछ ।,’ फुयाँलले भने । ‘हेटौंडा नगरलाई विद्यार्थी मैत्री बनाउन मेयर र उपमेयरको योजना के छ ? विद्यार्थीहरुले हेटौंडाका आगामी मेयर र उपमेयरबाट शिक्षा क्षेत्रमा हेटौंडा नगर कस्तो बनोस भन्ने चाहन्छन्, भन्ने विषयमा जानकारी लिने कार्यक्रम हो ।,’ उनले भने । अनेरास्ववियुले नगर भित्रका विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत् विद्यार्थी प्रतिनिधिहरुलाई सहभागी हुन आग्रहसमेत गरेको छ । ‘आजको अन्तरक्रियाले भोलीको भविष्य निर्धारण गर्छ । त्यसैले सबैलाई उपस्थित हुन आग्रह गरेका छौं ।,’ फुयाँलले भने ।