मकवानपुर – पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका तीनजना भुमिहीन दलित परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले शुक्रबार एक कार्यक्रमकाबीच बागमती गाउँपालिका वडा नम्बर ४ का तीनजना दलित परिवारलाई लालपुर्जा वितरण गर्नुभएको हो ।

मकवानपुर जिल्लाकै ब्यपारीक केन्द्रको रुपमा रहेको याहाँका अधिकांस अर्थात करीब ७५ प्रतिशत जनता अझै जग्गा धनीपुर्जा बिहिन रहेका छन् । गाउँपालिकाले लामो समयदेखि जग्गा नापजाँच गरेर राखेपनि वितरण गर्न सकेको थिएन । आज वडा नम्बर ४ का कृष्ण बहादुर दर्नाल, तीर्थ बहादुर बिश्वकर्मा र धर्मबहादुर बिश्वकर्मालाई जग्गाधनी पुर्जा प्रदान गरिएको गाउँपालिकाले जनाएकाे छ । वर्षौँपछि लालपुर्जा पाउँदा भूमिहीन दलित परिवार खुसी देखिएका छन् ।
कार्यक्रममा मन्त्री श्रेष्ठले देशभर रहेका सबै भूमिहीनले जग्गा प्राप्त गर्ने गरी अभियान तीव्र पारिएको बताउनुभयो । संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिइएको उहाँको भनाई थियो । उहाँले सरकारको अभियानमा वास्तविक भूमिहीन कोही पनि जग्गा पाउनबाट छुट्न नहुने बताउनुभयो ।
पूर्जा वितरण कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, राष्ट्रिय भूमि आयोग उपाध्यक्ष नहेन्द्र खड्का, गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङतान, भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहाललगायतको उपस्थिति थियो ।