काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आउँदाे संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले पार्टी एकीकरणका बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयाेग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।
आज शुक्रवार काठमाण्डाैमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले माधव नेपाललाई आउँदाे संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएकाे हाे । उहाँले भन्नुभयो, ‘५४ सिट दिइयो प्रचण्डलाई । तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । चार सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन । माधव नेपाल २२/२३ सिट ल्याउने सामर्थ्य भएका मानिस हुन् । अब तीन सिट ल्याएर देखाउन् त ?’ अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरूले सक्नुपर्ने बताउनुभयो । उहाँले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरू सक्रिय रहेको बताउनुभयो । वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति सङ्केत गर्दै उहाँले म नखाउँ भनेपछि सरकार थरर काम्ने गरेको पनि उल्लेख गर्नुभयाे । विद्यार्थी बाहिर पढाउने र कमिसन खान पल्केकाहरूले नै नेपालजस्तो स्वास्थ्यको हब बन्न लायक देशमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्त्वहरू सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्नेहरू सक्रिय छन् । स्वास्थ्यको, शिक्षाको त हब हुनुपर्छ नेपाल । विश्वको शिक्षा केन्द्र हुनुपर्दछ यो । ’ कार्यक्रममा अध्यक्ष ओलीले परीक्षण ल्याबसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको पनि दाबी गर्नुभयाे ।