मकवानपुर – मकवानपुरमा नेपाल सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि पहिलो पटक सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान आज शुभारम्भ भएको छ । मकवानपुको मनहरी गाउँपालिका स्थित भोजसिद्ध माविमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले अभियानको शुभारम्भ गर्नुभएको हो ।

अभियानको शुभारम्भ गर्नुहुँदै मन्त्री खतिवडाले सबैलाई खोप अभियानमा सहभागि भई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गर्नुभयो । उहाँले १५ महिनादेखि १५ वर्ष उमेर समूहका आफ्ना बालबालिका खोल लगाएर खोप अभियान सफल बनाउन सबै क्षेत्रका सरोकारवालालाई आव्हान गर्नुभयो ।
आजबाट सुरु भएर बैशाख १८ गतेसम्म सञ्चालन हुने अभियानमा मकवानपुरका एक लाख ८ हजार ४८६ जना बालबालिका लाभान्वित हुने छन् । जिल्लामा कुल ६०८ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । अभियानमा ८७० जना खोप कर्ता र एक हजार ३९० जना स्यमसेवक परिचालित हुने छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाईका अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५० हजार १६३, थाहा नगरपालिकाका ८ हजार ६१६, बागमती गाउँपालिकाका ६ हजार ६२८, बकैयाका ८ हजार ९४८, मनहरीका १० हजार ३७२, राक्सिराङका ५ हजार ६९२, कैलाशका ४ हजार ८३८, भीमफेदीका ४ हजार ७५८, मकवानपुरगढीका ५ हजार ३३५ र ईन्द्रसरोवरका ३ हजार २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । उहाँले लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने समेत जानकारी दिनुभयो ।