तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नबनेकाले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।
उहाँकाअनुसार भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बद्ली भइ एक÷दुई ठाउँमा हल्का पानी पर्नेछ । तर, देशका अन्य क्षेत्रमा भने तत्काल पानी पर्ने सम्भावना छैन ।
बिहारमा बनेको न्यून चापीय प्रणालीकै असरका कारण केही दिनयता यी तीन प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । तर, यो प्रणालीको सामान्य प्रभाव मात्रै परेकाले यी प्रदेशमा पनि राम्ररी पानी परेको भने छैन । आज पनि प्रदेश–१, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।