फाइल फाेटाे

काठमाडौं- ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विज्ञको सल्लाहमा नै प्रदेशका योजनाहरु कार्यन्वयन गरिने बताउनुभएको छ । प्रदेशको विकास लागि ३ नम्बर प्रदेश सरकारले तयार पारेको पहिलो आवधिक योजनामा समेटिएका विषयमाथिको छलफलका क्रममा मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशको विकासका लागि पञ्चवर्षिय आवधिक योजना सार्वजनिक गरेको भन्दै ती योजनामा समेटिएका विषयवस्तुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विज्ञको सुझावको आधारमा योजना कार्यन्वयन भईरहेको बताउनुभयो । प्रदेश सरकारले पूर्वाधार, कृषि, विशिष्टीकृत सेवा, उद्योग, सम्पदामैत्री पर्यटन जस्ता पाँचवटा विकासका आधारलाई समेटेर आवधिक योजना ल्याएको उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सातवटै प्रदेशको योजनामा एकरुपता हुनु पर्ने बताउनुभएको छ । समग्र विकारकालागि सतै प्रदेशको योजनामा एकरुपता हुनु पर्ने उहाँको भनाई थियो । ‘हामीले नबनाएका योजना पनि कतिपय प्रदेशले बनाएको पाइयो’, उहाँले भन्नुभयो । केन्द्रीय योजना आयोग र प्रदेश योजनाबीच समन्वय गरेर प्रदेशले योजना बनाउनुपर्ने उहाँको भनाई थियो । सरकारको १५औँं योजनाबाट मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई प्रदेश सरकारले सहयोग गर्ने गरी योजना बनाउनुपर्ने उहाँको भनाई थियो ।
प्रदेश नीति तथा योजना आयोगले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा प्रदेश ३ ले योजनामा समेटिएका विषयलाई कसरी लागू गर्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा पूर्वाधारका विषयमा पूर्व सचिव किशोर थापा र ईश्वर जोशी, शिक्षामा प्रा डा मनप्रसाद वाग्ले र डा केदारभक्त माथेमा, कृषिमा डा रामप्रसाद अधिकारी, सूर्य राई र मीनबहादुर बस्नेत, पर्यटनमा दिपेन्द्रपुरुष ढकालले सुझाव दिनुभएको थियो ।