मकवानपुर- जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाजमा नकारात्मक प्रबृति बढ्दै गएको बताउनुभएको छ । हेटौंडा-१६ हटिया स्थित जनप्रिय माध्यमिक विद्यालयमा आज आयोजित समुदाय प्रहरी कार्यक्रम अन्तरगत प्रहरी विद्यालय कार्यक्रममा उहाँले समाजमा बढ्दो नकारात्मकता चिन्ताको विषय भएको बताउनुभएको हो ।

प्रमुख खुलालले उन्नत समाज निर्माण गर्न आफै उन्नत बन्नुपर्ने भन्दै त्यसको सुरुवात पनि आँफैबाट गर्नुपर्ने बताउनुभएको हो । समुन्नत र परिस्कृत समाज निर्माण गर्न जरुरी रहेको उहाँको भनाई थियो । समाज परिवर्तन गर्न सबै लाग्न जरुरी रहेको उहाँले बताउनुभएको छ । समाजमा लागु औषध तथा अन्य कुलत बढेको भन्दै उहाँले समाज कता जाँदै छ भन्ने विषमा समीक्षा गर्नुपर्ने बताउनुभयो ।

देशमा विकासको गति बढेको र सरकारले लिएको सुखि नेपाली समृद्ध नेपाल निर्माणमा सबैको सहकार्य हुनुपर्ने भन्दै उन्नती र समृद्धि प्राप्त गर्न तथा खुसी पाउन व्यबहारमा सुधार हुनुपर्ने धारणा राख्नुभएको छ । ब्यहारले समाजमा सम्मान पाइने भन्दै प्रमुख खुलालले कुलतमा कोइ फस्न नहुने र आफ सभ्य बन्दै सभ्य समाज निर्माणमा लाग्नुपर्ने बताउनुभयो । कुलतमा फसेर धेरैको जिन्दगी बर्बाद भएको हुनाले समयमै सचेत हुनुपर्ने बताउनुभयो । सबैलाई सकारात्मक सोच राख्न आग्रह गर्दै उहाँले सकारात्मक बनेमा जीवनमा परिवर्तन आउने बताउनुभयो ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजना जिल्ला प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा ३ नम्ब प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले महिला हिंसा नियन्त्रण, दुव्र्यसनको नकारात्मक असर, साईक्रम क्राईम लगायतका विषयमा कक्षा ९ र १० का करिव १५० जना विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । विद्यार्थीलाई समाजमा हुने जुनसुकै अपराधको बारेमा समुदाय र प्रहरीलाई अवगत गराउन समेत आग्रह गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा १६ नम्बरका वडाध्यक्ष रामकृष्ण कोईराला, विद्यालयका प्रधानाध्यापक नवराज अर्याल, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका सचिव रमिला सापकोटा, पुर्व अध्यक्ष कुमार पौडेललगायतको सहभागिता रहेको थियो ।