काठमाडौँ – नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दै छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मङ्गलवार बिहान बैठक बस्ने तय भएको हो ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुहुनेछ भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नुहुनेछ । बैठकमा सहभागी हुन साउदी बिदेशमन्त्री सोमबार काठमाडौँ आइपुग्नुभएको छ ।
बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुका बारेमा छलफल गरिने मन्त्रालयले जनाएको छ । आजै नेपाल र साउदीबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने सम्भावना छ। उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । यसैबीच विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।