मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणाको तयारी गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको पूर्ण संस्थागत सुत्केरी नगर घोषणा अभियानअन्तर्गत वडा नम्बर ९ लाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणाको तयारी गरिएको हो ।जसका लागि सोमबार ९ नम्बर वडामा पुर्ण संस्थागत सुत्केरी घोषणा सम्बन्धी योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रम भएको छ ।

वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि खुलालले ९ नम्बर वडा अरु भन्दा भिन्न वडा रहेको वताउनुभयो । उहाँले वडामा स्वास्थ्य, शिक्षा, पुर्वाधार, सामाजिकलगायत सबै क्षेत्रमा उत्तिकै काम भएको उहाँको भनाई थियो । प्रमुख खुलालले घोषणा गर्नुमात्र ठुलो कुरा नभएको भन्दै तथ्य र तथ्याङक मिल्नु पर्ने कुरामा ध्यान दिन समेत सुझाव दिनुभयो । तथ्यांक राम्रो सङ लिएर सुनिश्चितता भए पछि मात्र घोषणा गर्न उहाँले सुझाव दिनुभयो । पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका लागि सबैलाइ सहयोग गर्न समेत उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडामा रहेको सहरी स्वास्थ्य केन्द्रकी ईन्चार्जले स्वास्थ्य केन्द्रमा जाँच गराउ नआउने, निजी क्लिनीकमा जाने गरेको गुनासो गर्नुभयो । यस्तै दुई पटक सम्म बजेट आएर पनि शहरी स्वास्थय केन्द्रको भवन बन्न नसकेकोमा उहाँले दुखेको पोख्नुभएको थियो ।यस्तै भवन अभावमा सेवा प्रवाहमा समेत समस्या रहेको बताउनुभएको छ । तर, मापदण्ड पूरा गरेर मात्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने जानकारी दिनुभयो । वडाका घरघरमा पुगेर अनुगमन तथा प्रतिबद्धता संकलन गरि तथ्य र तथ्याङको आधारमा पूर्ण शुनिश्चित भएपछि मात्र घोषणा हुने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य लक्ष्मी नेपाली, उपमहानगरपालिकाका सामाजिक विकास माहाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, जनस्वास्थ्य प्रमुख भोला प्रसाद चौलागाईंलगायत टोलविकासका अध्यक्षहरुको सहभागिता थियो ।