प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभालाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकाले एमसीसी अन्तर्गतका परियोजनामा नेपालका निर्माण व्यवसायीले पनि भाग लिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले ग्लोबल टेण्डर भएकाले नेपालका निर्माण व्यवसायीले पनि सहभागिता जनाउन सक्ने र नेपाली निर्माण व्यवसायीले एमसीसी अन्तर्गतका आयोजना प्राप्त गर्न सके आफु पनि खुसी हुने बताउनुभयो । प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीलाई सहुलियतका लागि सरकारले सार्वजनिक खरिद लगायतका नियमावली संशोधन लगायतका विषयमा सरकार लचिलो रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउनका लागि सरकारसँगै निजी क्षेत्रको सहकार्य एवं समन्वय अपरिहार्य रहेको पनि बताउनुभयो । कार्यक्रममा, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले समयमै आयोजना सम्पन्न गर्ने उद्देश्यले अब एक निर्माण व्यवसायीलाई एक पटकमा पाँच वटा आयोजना मात्र दिने गरी कानुन संशोधन गरिएको बताउनुभयो ।











