pasupatinath

हेटौंडाः हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज मंगलबार मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरुले भगवान शिव (महादेव)को पूजाराधना गरी देशभर शिवरात्रि पर्व मनाइँदैछ ।
भगवान शिव उत्पत्ति हुनुभएको रातका नामबाट नामाकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत धार्मिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा ज्ञान, करुणा र धर्मको उदय गराउने भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले शिवरात्रिको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवरात्रिका दिन उपवास (व्रत) बसी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
व्रतहरुमध्ये शिवरात्रिको व्रतलाई धर्मशास्त्रहरुले सर्वोत्तम मानेको छ । शिवरात्रिको दिन भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने गर्दछन् । भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन छ । महादेवलाई जाडो हुने जनविश्वासका कारण शिवरात्रिको साँझ प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।
शिवरात्रिलाई राष्ट्रिय सांस्कृतिक पर्वको रुपमा मान्यता दिँदै संघीय सरकारले सार्वजनिक विदा दिँदै आएको छ । शिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । अघिल्ला दुई वर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण पशुपतिनाथमा शिवरात्रि पर्व औपचारिकरुपमा मनाइएको थिएन । यसवर्ष भने पशुपतिनाथ मन्दिरमा शिवरात्रि मेलाको चहलपहल निकै देखिएको छ । पशुपतिनाथको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लाग्ने गरेको छ । शिवरात्रिमा भक्तजन काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा रहेको शिव (पशुपति) मन्दिरमा दर्शन गर्दै पूजा आराधना गर्दछन् । महाशिवरात्रि पर्वको लागि काठमाडौंको पशुपति मन्दिर क्षेत्रलाई यस वर्ष विशेष तरिकाले सजाइएको छ ।