सरकारले प्रदेश नम्बर ३ का प्रदेश प्रमुखमा बिष्णु प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ । झापा आन्दोलनमा लागेका प्रसाईलाई आज प्रदेश ३ को प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेसंगै प्रदेश ३ मा भने प्रसाईंलाई नियुक्त गर्ने भएको हो ।

यसअघि आजै बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको थियो । सचिवालयले टुंगो लगाएको नाम प्रदेश प्रमुखमा नियुक्ति गर्न सरकारलाई सिफारिस गरेको थियो । प्रदेश टुंगो नलगाई सचिवालयले नाम सिफारिस गरेको भए पनि मन्त्रिपरिषद् बैठकले यसबारेमा टुंगो लगाएर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

झापाका स्थायी बासिन्दा प्रसाईँ प्रधानमन्त्री केपी ओली सँगै २०२८ को झापा विद्रोहमा संलग्न नेता हुन् । झापा मेचीनगरका प्रसाईंले २०४३ मा जनपक्षीय उम्मेद्वार बन्दै धाइजन गाउँ पञ्चायतमा प्रधानपञ्च निर्वाचित भएका थिए । ०४९ को स्थानीय निर्वाचनमा प्रसाईं झापा जिल्ला विकास समितिको उपसभापति बने । त्यस यता भने उनी जनअनुमोदित हुन सकेका थिएनन् । २०६४ को संविधानसभा निर्वाचनमा पराजित प्रसाईं २०७४ मा मेची नगरपालिकामा मेयरका लागि उम्मेद्वार बनेका थिए । तर, निर्वाचन भने उनले जित्न सकेनन् । प्रसाईँलाई स्थानीय तहको निर्वाचनमा काँग्रेसका विमल आचार्यले पराजित गरेका थिए । संसदीय निर्वाचन जित्न नसकेपछि राष्ट्रिय राजनीतिले खासै नचिन्ने प्रसाईं नेकपा एक नम्बर प्रदेश कमिटी सदस्य हुन् ।

मन्त्रिपरिषद् बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्नुहुनेछ ।