file photo

मकवानपुर – बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख शर्माले शनिबार विज्ञप्ति जारी गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख शर्माले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २००७ साल फागुन ७ गतेका दिन १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा शासनको अन्त्य भई मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता प्राप्त भएको ऐतिहासिक दिनका रुपमा हामी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । ‘प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गर्दै आफ्नो जीवनलाई प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्घान्तप्रति प्रतिबद्घ प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।’ शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विगतका ऐतिहासिक आन्दोलन, संघर्ष,त्याग तथा बलिदानको विशीष्ट भूमिका रहेको जनाउँदै यही सेरोफेरोमा र तिनै संघर्षको बलमा अहिले देशमा संघीयता,गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता सहितको संविधान कृयाशील भएको पनि उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा प्रमुखले हामीले आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबबोध गर्ने दिनका रुपमा सम्झिनुपर्ने बताउनुभएको छ ।