चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन हुनु भएकाे छ । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३ गते) झण्डै एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो ।
एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन हुनु भएकाे छ । निर्वाचन मण्डलका अनुसार बुधवार दिउँसो १ बजे नवनिर्वाचित कमिटीको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम एमाले पार्टी कार्यालय भरतपुरमा राखिएको छ । एमाले अध्यक्ष बनेका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष हुनुहुन्थ्याे । एमालेको अध्यक्षका लागि न्यौपानेसँगै कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि इच्छा देखाउनु भएकाे थियाे । निर्वाचन मण्डलका संयोजक तथा एमाले चितवनका जिल्ला इञ्चार्ज देवी ज्ञवालीले सबै भूगोल, पालिका, महिला, लिंग, जातजाति आदिको आधारमा नयाँ कमिटी गठन गरिएको जानकारी दिनुभयाे ।
पार्टी सचिव बन्नु भएका शैलेश खनाल रामबहादुर थापा बादल समूहबाट प्रतिनिधित्व गर्नुभएकाे छ । उहाँ यसअघिको कमिटीमा पनि सचिव हुनु हुन्थ्याे । एकता प्रक्रियाबाट आएका झण्डै १५ जना जिल्ला कमिटीमा समेटिएका छन् । एमालले भरतपुर महानगरपालिकाबाट २० पुरुष र १२ महिला, रत्ननगर नगरपालिकाबाट ७ पुरुष र ५ महिला, खैरहनी नगरपालिकाबाट ७ पुरुष र ५ महिला, राप्ती नगरपालिकाबाट ७ पुरुष र ५ महिला, कालिका नगरपालिकाबाट ५ पुरुष र ३ महिला, माडी नगरपालिकाबाट ५ पुरुष र २ महिला तथा इच्छाकामना गाउँपालिकाबाट ३ पुरुष र २ महिला जिल्ला कमिटीमा समेटिएका छन् । निर्वाचन क्षेत्रका आधारमा समेत जिल्ला कमिटीका सदस्यहरुको प्रतिनिधित्व गराइएको छ । एमाले चितवनका नेताहरुलाई जिल्ला अधिवेशनकै क्रममा कोरोना संक्रमण भएको तथा निर्वाचन मण्डलका संयोजक देवी ज्ञवालीका पिताको निधन भएका कारणले नयाँ नेतृत्व चयनका लागि समय लागेकाे एमाले चितवनले जनाएको छ ।