मकवानपुर- एसिड प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले ६ वर्ष पछी पक्राउ गरेको छ । हेटौँडाकी विन्दबासिनी कंसाकारलाई २०७० साल बैशाख ९ गते एसिड प्रहार गरी फरार भएका भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर–६ का राज भनिने दिलिपराज केशरीलाई प्रहरीले पक्राउ गरेको हो ।
हेटौँडा बस्दै आएका केशरीले कंसाकारलाई २०७० साल बैशाख ९ गते पसलमै गएर एसिड प्रहार गरी फरार भएका थिए । आफुले राखेको विवाहको प्रस्ताव अस्विकार गरेको भन्दै केशरीले कंसाकारलाई एसिड प्रहार गरेका थिए । पक्रउ परेका केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
केशरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा बाराका प्रहरी नायव निरीक्षक सागर शम्सेर जवरासहितको टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका भलोहीमा लुकिछिपि बसेको अवस्थामा विहिबार राति ९ बजे पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
विहिबार पक्राउ परी शुक्रबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएका उनलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप भएको छ । शुक्रबार नै केशरीलाई ज्यान मार्ने उद्योग मुद्धामा अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद लिएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका उनलाई ५ बर्षदेखि १२ बर्ष कैद हुने व्यवस्था छ ।