मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को लामसुरे हाइट टोल विकास संस्थाको १६ औं वार्षिक साधारणसभा आज बिहान सम्पन्न भएको छ । कार्यक्रम लामसुरे हाइट टोल विकास संस्थाका अध्यक्ष नकुल अधिकारीको सभाध्यक्षता तथा ९ नम्बर वडा सदस्य सुकराम केसीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा लामसुरे हाइट टोल विकास संस्थाका कोषाध्यक्ष हरि प्रसाद पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १४ लाख ४१ हजार बचत रहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि ९ नम्बर वडा सदस्य सुकराम केसीले सामाजिक विकासको क्षेत्रमा बजेट रहेको भन्दै कार्यक्रम माग गर्न अनुरोध गर्नुभयो । यस्तै, कार्यक्रममा अतिथिहरुले टोल विकास संस्थाले उद्यमशीलता तर्फ काम गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले गृहिणी महिलाहरुलाई लक्षीत गरी आर्थिक उपार्जनसँग जोड्न टोल विकास संस्थाले भूमिका खेल्नु पर्ने बताएका छन् । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत भैरब बहादुर कुमालको विशेष आतिथ्यता रहेको कार्यक्रममा ९ नम्बर वडा टोल समन्वय समितिका संयोजक यदुवंश खतिवडा लगायतको उपस्थिति रहेको थियो ।