मकवानपुर – मकवानपुरका तीनवटा गाउँपालिकाले तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा सार्वजनीक विदा दिएको छ । तीनवटै पालिकाले आज सूचना जारी गरेर तामाङ समुदायले नयाँ वर्षको आरम्भको रूपमा मनाउने सोनाम ल्होछारमा तीन दिन सार्वजनीक विदा दिने निर्णय गरेको हो ।
जिल्लाको बागमती, बकैया र राक्सिराङ गाउँपािलकाले सोनाम ल्हाछारका अवसरमा तीन दिन विदा दिने निर्णय गरेका हुन् । बागमती गाउँपालिकाले माघ १८, १९ र २० गते तथा बकैया र राक्सिराङ गाउँपािलकाले माघ १९, २० र २१ गते बिदा दिने निर्णय गरेको छ । सार्वजनिक बिदाको समयमा कोभिड–१९ विरुद्धको खोप अभियान तथा अन्य नियमित खोप कार्यक्रमहरु भने सञ्चालन हुने जनाईएको छ । उक्त गाउँपािलकाहरुमा तामाङ समुदायको बाहुल्यता रहेको छ । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ वर्ष एकै दिन मनाइन्छ ।