मकवानपुर – बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले शहिदहरुको संघर्ष र त्यागको मर्मलाई आत्मसात गर्नु नै शहिद प्रति सच्चा सम्मान हुने बताउनुभएको छ । सहिद दिवस, २०७८ को अवसरमा आज एक सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिनुहुने वीर शहिदहरुलाई एक दिनमात्र सम्झिएर उहाँहरुले देख्नुभएको सपना साकार पार्न नसकिने उल्लेख गर्नुहुँदै शहिदहरुले गर्नुभएको संघर्ष र त्यागको मर्मलाई हामीले सदैव आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेश प्रमुख शर्माले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षालगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शहीदहरुप्रति श्रद्दाञ्जली व्यक्त गर्नुहुँदै निरङकुश तानाशाही व्यवस्थाविरुद्दको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने महान शहीदहरु शुक्रराजशास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले भन्नुभएको छ,– “आजको दिन शहीदहरुलाई सम्झिरहँदा देश र जनताको हितका निम्ति प्राप्त गरेका उपलब्धिहरु शहीदहरुको बलिदानबाट मात्र सम्भव भएको तथ्यलाई स्मरण गर्दै शहीदहरुको जीवन उत्सर्गले आलोकित मार्गमा हिड्नका लागि प्रेरित हुने र उहाँहरुको सपना साकार पार्न प्रण गर्ने दिनका रुपमा सम्झनुपर्दछ ।”
शुभकामना सन्देशमा उहाँले समावेशीता र संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात समृद्द नेपाल निर्माण गर्ने शहिदहरुको सपना पूरा गर्न, योजनाबद्द रुपमा देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्बन्धित सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले देशको इतिहासको विभिन्न कालखण्डमा भएका संघर्षहरु, राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्य र लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने आन्दोलनको अग्रपंतिमा रहेर लड्दालड्दै आफ्नो जीवन, देश र जनताको लागि समर्पण गर्नुहुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
